सिंचाइ क्षेत्रको विकास र विस्तारमा नेपाल सरकारको प्रमुख निकायको रुपमा जलश्रोत तथा सिंचाइ विभाग रही आएको छ भने प्रदेश सरकार अन्तर्गत खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय र सो मातहतका कार्यालयहरु रहेका छन् । देशको बदलिँदो परिस्थिति र संघियता कार्यन्वयनको क्रमसँगै नेपाल सरकार मन्त्रिपरिषद्को २०७५÷०६÷०५ गतेको निर्णयानुसार तत्कालिन भौतिक पूर्वधार बिकास मन्त्रालय, प्रदेश १ अन्तर्गत चन्दा मोहना सिचाई ब्यबस्थापन कार्यालयको कर्मचारी दरवन्दी सहित व्यवस्था भएको छ । सुनसरी मोरङ्ग सिचाई आयोजना बिराटनगर, १३ को परिसर भित्र रहेको एउटा भवनबाट २०७५÷०८÷२७ देखि संचालनमा आएको यस कार्यालयको कार्यक्षेत्र सुनसरी जिल्लाको १८०० हेक्टर सिंचित क्षेत्र रहेको चन्दा मोहना सिचाई प्रणाली रहेको छ । हाल मोरङ्ग जिल्ला स्थित भोर्जना गछिया सिंचाई प्रणाली, चिसाङ्ग के.भो.ले.न. सिंचाई योजना र मुुसहरघटा सिंचाई योजना सहित थप तीन सिंचाई योजनाहरु समेत यसको कार्यक्षेत्र भित्र रहेको छ । सम्बन्धित कार्यक्षेत्रहरुको सिचाई योग्य क्षेत्रभित्र जलश्रोतको उपयोगबाट सिचाई सेवालाई बिस्तार गरी कृषि उत्पादन र उत्पादकत्वमा बृद्घि गर्न भरपर्दो, पहँुचयोग्य र सहभागीतामुलक सिचाई सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार अन्तर्गत यस सिचाई ब्यबस्थापन कार्यालयको व्यवस्था गरिएको छ । प्रदेश सिचाइ ऐन २०७५ ले यस कार्यालयको कार्यक्षेत्र थप गर्न सक्ने ब्यबस्था पनि गरेको छ । सोहि बमोजिम बिस्तारित कार्यक्षेत्र मोरङ्क जिल्लाका तीन नगरपालिकाहरु सुन्दरहरैंचा, सुनवर्षी र लेटाङ पर्दछन । सम्बन्धित कार्य क्षेत्रमा कृषि उत्पादन वृद्धि गर्न , सिंचाई क्षेत्रको विस्तार गर्न, सिंचाई, भूमिगत सिंचाई, सिंचाई व्यवस्थापन तथा सिंचित क्षेत्रको बचावट जस्ता कार्यक्रममा सन्तुलन र समन्वय कायम राख्न, सिंचाई सम्बन्धी नीति नियमहरुको कार्यान्वयन गर्न, आयोजना एवं व्यवस्थापन प्रणालीको मर्मत संभार गर्न, वातावरणीय सन्तुलन कायम राख्न, प्रभावकारी रुपमा अनुगमन तथा मूल्याङ्कन गर्न यस कार्यालयको भूमिका रहने छ ।